पार्टी फेरेर नथाक्ने पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी १५ औँ पटक पार्टी परिवर्तन गर्दै पुनः नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य गिरी केही महिना अगाडि मात्र नेकपा (एमाले) छोडेर पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए । तर शनिबार पोखरिया नगरपालिकामा आयोजित कार्यक्रममा पूर्व मन्त्री प्रमोद जयसवाल, पर्सा क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश पाण्डे र पाेखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहान लगायतले गिरीलाई एमालेमा स्वागत गरेका छन् ।
गिरीले आफ्नो राजनीतिक जीवनमा १५ औँ पटक पार्टी परिवर्तन गरेका हुन् । यसअघि उनी डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए । बारम्बार पार्टी परिवर्तन गर्ने उनको राजनीतिक अभ्यासले उनलाई “दलबदलु नेता” को छवि दिएको छ । उनको राजनीतिक यात्रा कम्युनिष्ट आन्दोलनबाट सुरु भएको हो । २०५१ सालमा उनी एमालेबाट संसद्को निर्वाचन लडेपनी पराजित भएका थिए । त्यसपछि २०५८ सालमा एमाले छोडेर स्व. सलीम अन्सारीको समाजवादी पार्टीमा प्रवेश गरेका थिए । केही समयपछि उनले कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल रोजेका थिए तर त्यसमा समेत उनि टिक्न सकेनन् र भूमिगत गोइत समूहमा सक्रिय भए ।
गोइत समूह छाडेपछि गिरीले संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक आफ्नै भूमिगत समूह स्थापना गरेका थिए । उक्त मोर्चाले अपेक्षित प्रभाव नपाएपछि एमाले नेताहरूको पहलमा शान्ति वार्तामा फर्केर मूलधारको राजनीति रोजेका थिए । पछि उनी प्रचण्ड नेतृत्वको माओवादीमा गए तर २०७० को संविधानसभा निर्वाचनमा पराजित भए ।
२०७४ को स्थानीय निर्वाचनअघि उनले एमालेमाथि “मधेसी जनताको विश्वासघात” गरेको आरोप लगाउँदै सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । यसबाट उनी पर्सा–३ (ख) बाट प्रदेशसभा सदस्य बनेका थिए । त्यसपछि पनी उनि जसपा, नयाँ शक्ति र लोसपा लगायतका दलमा संलग्न भएका थिए ।
२०७९ को निर्वाचनमा उनले पुनः एमाले फेरे पनि टिकेट नपाएपछि नेकपा (एस) रोजेर प्रतिस्पर्धा गरेका थिए, तर मतदाताले उनलाई तेस्रो स्थानमा पुर्याइदिएका थिए । त्यसपछि उनी डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका थिए । हाल गिरी पुनः घुम्दा घुम्दै रूमजाटार भने झै पुरानो पार्टी नेकपा एमालेमा फर्किएका छन् । राजनीतिक विश्लेषकहरूले बारम्बार पार्टी परिवर्तन गर्ने उनको अभ्यासले जनविश्वासमा असर पुगेको र अब उनको राजनीतिक पुनर्स्थापना सम्भावना न्यून रहेको कतिपयले बताउँछन् ।
उनलाइ एमालेले सभा सम्मेलनमा बाेल्नका लागि भित्राएकाे एक स्थानीय नेताले बताएका छन् । गिरीएमालेमा कति समय टिक्छ भन्ने समयले देखाउछ । अहिले एमालेले बाेल्ने नेता पाएका छन् ।