ज्योति सामुदायिक विकास सेवा नेपाल, शाखा कार्यालय वीरगञ्ज–पर्साले मानव बेचबिखन विरुद्धको अभियानको क्रममा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।
वीरगञ्ज महानगरपालिका–१६, भन्सार गेटको उत्तरपट्टि स्थापना गरिएको उक्त केन्द्रको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संस्थाका केन्द्रीय उपाध्यक्ष राजन सुनारको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं। १६ का वडाध्यक्ष परशुराम चौरसिया उपस्थित थिए ।
सभापति सुनारले मानव बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, स्थानीय तह र नागरिक समाजबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो। उनले नयाँ केन्द्रले जोखिममा रहेका समुदायलाई समयमै सचेतना, परामर्श र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि चौरसियाले अभियानलाई स्थानीय तहबाट पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै यस्ता केन्द्रहरूले समाजमा बढ्दो जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उनले पीडित संरक्षण र जनचेतना अभिवृद्धिका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले पर्सा सीमावर्ती जिल्ला भएकाले मानव बेचबिखनको उच्च जोखिममा रहेको औँल्याउँदै यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि वा घटनाको जानकारी तुरुन्त प्रहरीलाई दिन आग्रह गर्नुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी, संस्थाका उपाध्यक्ष विजय पासवान र सचिव निरज आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका अनुसार, उक्त केन्द्रमार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना अभिवृद्धि गरिने र पीडित तथा जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यक सूचना, परामर्श र सहयोग उपलब्ध गराइनेछ ।