राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम बदलिंदै गएसँगै देशका विभिन्न भागमा भोलिदेखि तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको चेतावनी दिएको छ ।
प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिमा आगामी तीन दिनको मौसम पूर्वानुमानसहित नागरिकलाई सचेत रहन अपिल गरेको हो । प्राधिकरणका अनुसार शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
साथै, दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा शुक्रबारदेखि नै तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ । पूर्वी क्षेत्रमा भने शनिबार विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा झण्डै ११९ किलोमिटर प्रतिघण्टा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको समयमा पर्ने यी मौसमीय गतिविधिले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम बढाउने प्राधिकरणको चेतावनी छ । पछिल्ला केही दिन हावाहुरीका कारण मानिसको मृत्यु र घाइते हुने घटनाहरु देखिएकोले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनुपर्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले नागरिकलाई विशेष काम नभए यात्रामा ननिस्कन, हावाहुरी चलिरहेको बेला घरका झ्यालढोका बन्द गर्ने, आगोका स्रोत बन्द गर्ने, सवारीसाधन सुरक्षित स्थानमा रोक्ने, भिडभाडमा नआत्तिन, र भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जाने अनुरोध गरेको छ ।
साथै, हावाहुरीको समयमा कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीको खम्बा मुनि नबस्न, लत्रिएको तार नछुन, विद्युतीय उपकरण नचलाउन र जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले चेतावनी दिएको छ ।