नेपाली कांग्रेसबाट सांसद बनेका प्राध्यापक डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा पार्टी भित्र चुलिएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय अभ्यास र अनुभवको आधारमा डा. यादवलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल भएको काँग्रेसका एक नेताले जानकारी दिए । डा. यादव संविधान सभा सदस्यसमेत रहेका व्यक्ती हुन् र नेपाली कांग्रेसका केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका उनी चिकित्साशास्त्रमा स्नातकोत्तर र मेडिकल साइन्समा एम.डी. गरेका रेडियोलोजीका प्राध्यापक समेत हुन् ।
पटक पटक विश्वास जित्दै आएका डा. यादव दोश्रो पटक सांसद बनेर संसदीय परिपक्वता प्रमाणित गरिसकेका छन् ।
तराई–मधेशमा विश्वास जित्न डा. यादव नेतृत्वको अपेक्षा
राजनीतिक विश्लेषकका अनुसार, वर्तमान जटिल राजनीतिक परिस्थितिमा काँग्रेसलाई तराई–मधेशमा जनविश्वास फिर्ता ल्याउन र राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व कायम राख्न डा. यादव जस्तो सुझबुझपूर्ण नेतृत्व आवश्यक रहेकाे देखिन्छ ।
कांग्रेसकाे इतिहासमा स्व. बी.पी. कोईराला र गिरिजा प्रसाद कोईरालाले मधेशप्रति विशेष ध्यान दिएका थिए भने हालै सम्पन्न आम निर्वाचनमा गगन थापाले पनि मधेशको जनाधारको महत्वलाई जोड दिएका थिए ।विश्लेषकहरूका अनुसार डा. यादव संसदीय दलको नेता भए, काँग्रेसले मधेशमा गुमाएको जनाधारको पुनःसुदृढीकरण गर्न सहज हुनेछ । यसैक्रममा, पार्टी भित्रको युवाप्रधान नेता र मधेशीय जनसंपर्क समितिहरूले पनि यस कदमलाई सकारात्मक रुपमा स्वागत गर्ने अपेक्षा गरिएको छ ।
पार्टी नेताहरूका अनुसार, डा. यादवले अनुभव, मधेशीय सम्वेदनशीलता र वैज्ञानिक सोचलाई मिश्रित गरी संसदमा कांग्रेसको नेतृत्वलाई मजबुत बनाउन सक्नेछन् । यस कदमले पार्टीको रणनीति, संसदीय कामकाज र नयाँ सरकारसँगको समन्वयमा पनि सहजीकरण हुने आशा गरिएको छ ।
अगामी संसद सत्रमा डा. यादवको संसदीय नेतृत्वले पार्टीलाई पुनः सक्रिय र सशक्त बनाउने दिशामा केन्द्रित रहने एक कांग्रेश नेताले बताए ।