प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेल वर्षा नराेकिएपछि खेल रोकिएको हो । वर्षा सुरु हुनुअघि कर्णालीले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको थियो । भने, कर्णालीका ओपनर रवीन्द्र शाहीले ९ तथा सुनिल धमलाले ७ रन बनाएका थिए ।
लुम्बिनीका बलर सन्देश थापाले चार ओभरमा १२ रन खर्चिँदा राजेन्द्र बमले तीन ओभरमा एक मेडनसहित ८ रन दिएका थिए। यसअघि टस जितेको लुम्बिनीले कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । खेल सुरु भएको केही समय मै वर्षा सुरु भएपछि खेल रोकिएको नेपाल क्रिकेट संघ (क्यान) बाराका कोच समिर नेपालले जानकारी दिएका छन् ।
यता, वर्षाकै कारण जनकपुरस्थित रामजानकी रंगशालामा शनिबार हुने भनिएको कोशी प्रदेश र मधेस प्रदेशबीचको खेल पनि प्रभावित भएको छ । वर्षाका कारण उद्घाटन समारोह समेत प्रभावित बनेको जनाएको छ ।
यस संस्करणको प्रधानमन्त्री कप मधेस प्रदेशका वीरगञ्ज र जनकपुर तथा काठमाडौंका तल्लो र माथिल्लो मुलपानी गरी चार मैदानमा आयोजना हुँदैछ । प्रतियोगिता अन्तर्गत १९ खेल वीरगञ्जमा, उद्घाटनसहित १७ खेल जनकपुरमा तथा बाँकी १० खेल मुलपानी मैदानमा हुनेछन् ।
आईसीसी विश्वकप लिग–२ को तयारीका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यसपटक प्रतियोगिताका कुनै पनि खेल नराखिएको नेपाल क्रिकेट संघले जनाएको छ । उक्त मैदानमा तय गरिएका सबै खेल मुलपानी सारिएका छन् ।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साविक विजेता नेपाल पुलिस क्लब रहेका छन् ।