मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका–४मा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको मन्दिरको पोखरी अतिक्रमणको घटना बाहिरिएको छ । वर्षौंदेखि अस्तित्वमा रहेको पोखरीमा गुपचुप रूपमा माटो पुर्न थालेपछि स्थानीय बासिन्दाले विरोध गरेपछि विवाद सार्वजनिक भएको हो ।
मन्दिरको जग्गा व्यक्तिको नाममा पास गरी शैक्षिक संरचना निर्माण गर्ने योजना आरोपित व्यक्तिहरूले अघि बढाएको बताइएको छ । रामजानकी कोचिंग सेन्टर तथा रामजानकी अस्पतालका सञ्चालक गणेश साह र एजुकेशन प्वाइन्ट इंग्लिस बोर्डिङ स्कूलका संस्थापक सुकेश्वर यादवको मिलेमतोमा सो अतिक्रमण तीव्र रूपमा भइरहेको आरोप छ ।
जग्गाधनी भगवान श्री सीताराम भएको स्पष्ट हुँदाहुँदै संरक्षक सुरेन्द्र कुमार लालमार्फत जग्गा बिक्री गरिएको पाइएको छ । मालपोत कार्यालयमा तत्कालीन प्रमुख रामबाबु मण्डलको नेतृत्वमा अवैध रूपमा रजिष्ट्रेशन गरिएको थियो ।
साबिकको जनकपुर–४ -ख) कि.नं. १६६ अन्तर्गत रहेको ११ कट्ठा जग्गा हाल विभिन्न व्यक्तिहरूको नाममा विभाजन गरिएको छ । पोखरीको क्षेत्र विशेषको जग्गा गणेश साहकी पत्नी पुष्पाञ्जली साह, प्रमिला यादव, विजयकुमार सुनरैत यादव र रञ्जेश कुमार सिंहको नाममा पास भएको छ । यस क्षेत्रमा संरचना निर्माणको तयारी गर्दा विवाद सतहमा आएको हो ।
यसअघि सो मन्दिर अन्तर्गतको अन्य जग्गामा समेत अवैध कब्जा गरी श्रीरामजानकी कोचिङ सेन्टर तथा श्रीरामजानकी अस्पताल सञ्चालनमा रहेको छ । सर्वे नापी अनुसार सन् २०२६ मा उक्त जग्गा रामानुज दास वैष्णवको नाममा थियो । पछि विभिन्न व्यक्तिहरूको नाममा दर्ता भएको र मन्दिरका पुजारी चर्तुभुज लाल कायस्थले संरक्षकको जिम्मेवारी लिएर ठूलो क्षेत्रफल अधीनमा लिएका थिए ।
स्कुलका सञ्चालक सुकेश्वर यादवले कि.नं. ६१ को ३ कट्ठा जग्गा खरिद गर्न २०७६ सालमै १५ लाख रुपैयाँ पेश्की दिएको दाबी गरेका छन्। तर नामसारी नहुँदा विवाद चर्किएको छ। संरक्षक सुरेन्द्रले जग्गा बिक्री नगरेको दाबी गर्दै जनकपुरधाम उपमहानगरपालिकामा निवेदन दिएका छन् ।
धनुषा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा सो प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । समिति एक साताभित्र प्रतिवेदन पेश गर्ने तयारीमा रहेको छ ।