वीरगंजस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को नियमित (त्रैमासिक) परीक्षा अन्तिम समयमा आकस्मिक रूपमा रद्द भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन् ।
कलेज प्रशासनले आजदेखि सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले परीक्षा नियमित र निर्धारित समय तालिकामा सञ्चालन गर्नुपर्ने, दैनिक कक्षा र अन्य शैक्षिक गतिविधिहरू प्रभावित नहुने गरी व्यवस्थापन गर्नुपर्ने माग गर्दै कलेजको मुख्यद्वार अगाडि केही समय धर्ना दिएका थिए । उनीहरूले कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिविरुद्ध नाराबाजी समेत गरेका थिए ।
विद्यार्थीहरूको भनाइअनुसार, कलेजभित्र शिक्षा विभाग, कर्मचारी, प्रशासन र सञ्चालक समितिबीचको आन्तरिक द्वन्द्वका कारण विद्यार्थीहरूको पठनपाठन, कक्षा सञ्चालन, परीक्षा तथा अन्य शैक्षिक क्रियाकलापहरू पटक-पटक प्रभावित हुँदै आएका छन् । उनीहरूको मुख्य माग प्रशासनिक विवादले भविष्यमा नकारात्मक असर नपारोस् भन्ने रहेको छ ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले कलेजको मुख्यद्वारबाट र्याली निकालेर वीरगञ्ज घण्टाघर चोकसम्म पुगे । त्यहाँ उनीहरूले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, केही विद्यार्थीले तोडफोड गर्दा सामान्य ठेलमठेलको स्थिति सिर्जना भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो भने केही विद्यार्थीहरूलाई नियन्त्रणमा पनि लिएको छ ।
प्रहरीले यातायात सहज बनाउने प्रयास जारी राखेको र स्थिति सामान्य बनाउनेतर्फ काम भइरहेको जानकारी दिएको छ । तर कलेज प्रशासनले परीक्षा स्थगित गर्नुपर्ने कारणबारे अझै स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।