वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बर्दियाका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, सर्लाहीका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौंकी ४३ वर्षीया उमा गुरूङ, कास्कीका ३३ वर्षीय आशिष महत र रामेछापकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।
उनीहरूले पीडितहरूलाई क्रोएशिया, माल्दिभ्स, बेलायत र पोर्चुगल जस्ता देशमा रोजगारीका लागि पठाइदिने आश्वासन दिँदै ठूलो रकम असुल गरी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आशिष महतले बेलायत पठाइदिने भन्दै एकै व्यक्तिबाट २३ लाख रुपैयाँ ठगी गरेका छन् । त्यसैगरी अर्जुन पौडेलले क्रोएशियाका लागि ३ लाख ३० हजार, डिल्ली राम भुजेलले माल्दिभ्सका लागि २ लाख ९९ हजार, उमा गुरूङले बेलायतका लागि २ लाख र संगिता श्रेष्ठले पोर्चुगल पठाइदिने भन्दै ३ लाख ६८ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
पक्राउ परेकामध्ये उमा गुरूङ, संगिता श्रेष्ठ र आशिष महतलाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो भने अर्जुन पौडेल र डिल्ली राम भुजेललाई गत शुक्रबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।