वीरगंज उद्योग वाणिज्य संघले पर्सा जिल्लाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना प्रतिनिधि सभा सदस्यहरूको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
संघले क्षेत्र नम्बर १ का सांसद हरि पन्त, क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु, क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौधरी र क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यलाई विशेष समारोहबीच सम्मान गरेको हो ।
कार्यक्रममा सांसदहरूले संघले विगतदेखि उठाउँदै आएका उद्योगी–व्यवसायीका समस्याप्रति आफूहरू पूर्ण रूपमा एकमत रहेको बताएका छन् । समग्र आर्थिक विकास र उद्योग व्यवसाय प्रवर्द्धनका लागि सामूहिक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा १ का सांसद हरि पन्तले संघले वर्षौँदेखि उठाएका साझा समस्याहरू समाधान गर्न आफूले हरसम्भव प्रयास गर्ने बताए । उनले आवश्यक परे प्रतिपक्षको भूमिका निभाउँदै वा धर्ना बसेर समस्या समाधानका लागि दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले घरेलु, मालपोत, नापी कार्यालय, नारायणी अस्पताल लगायत विभिन्न सरकारी कार्यालयहरूमा देखिएको विचौलिया प्रवृत्ति, सिफारिस र मुचुल्काको नाममा हुने अनियमितता तथा सेवाग्राहीमाथि हुने समस्या अन्त्य गर्न दृढतापूर्वक लाग्ने बताए ।
सांसद रामाकान्त चौधरी र टेकबहादुर शाक्यले पनि उद्योगी–व्यवसायीका समस्याहरू समाधानका लागि साझा पहल आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ आफूहरू प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष हरि गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरू अशोक टेमानी, अशोक वैद्य, सुबोध गुप्तासहित अन्य पदाधिकारी, सल्लाहकार र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव शिवजी साहले गरेका थिए ।