पर्साको जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि आजसम्म आमाको नामबाट ३३ जनालाई नागरिकता प्रदान गरेको छ ।
नेपाल नागरिकता ९चौथो संशोधन० नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशित भएपछि बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन, २०६३ को प्रावधान कार्यान्वयनमा आएको हो । कार्यालयले नागरिकता नियमावली अनुसार आवश्यक कागजात र मापदण्ड पूरा गरेका नागरिकताविहीन नागरिकलाई आमाको नामबाट नागरिकता वितरण सुरु गरेको हो ।
पर्साको वीरगञ्ज महानगर–११ का विजयकुमार साहले आमाको नामबाट नागरिकता पाएपछि आफूलाई सहज भएको बताउँदै भने, “नागरिकता बनाउन धेरै वर्ष भौतारिनु पर्थ्यो । आमाको नामबाट नागरिकता पाएपछि अब प्रशासनिक झन्झटबाट मुक्त भएको अनुभूति भएको छ ।”
त्यस्तै, वीरगञ्ज महानगर–१३ का जुबैर अन्सारीले पनि लामो संघर्षपछि नागरिकता प्राप्त गरेपछि ठूलो उपलब्धि महसुस भएको बताए । “नागरिकताविहीन हुनु निकै पीडादायी र कठिन भएको थियो । आमाको नामबाट नागरिकता पाएपछि अहिले अत्यन्त हर्षित छु,” उनले भने ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आवश्यक मापदण्ड र कागजात पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिइएको पुष्टि गर्दै भने, “नेपाल नागरिकता नियमावली, २०८२ अनुसार नागरिकताविहीन भई आफ्नो अधिकारबाट वञ्चित भएका नागरिकहरुलाई ठूलो राहत पुगेको छ । अब उनीहरु आफ्नो अधिकारको संरक्षण गर्न सक्नेछन् ।”
यस कार्यक्रले पर्सामा नागरिकताविहीन नागरिकको समस्या कम गर्न महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।