प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आफ्ना श्रीमान्सहित हिन्दू आस्थाको प्रमुख केन्द्र जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले प्रधानमन्त्री कार्कीलाई हिन्दू परम्परा अनुसार नियमनिष्ठापूर्वक पूजाअर्चना र आरती गराउनुभयो । सो क्रममा महन्थ दासले प्रधानमन्त्री कार्कीलाई फूलको माला र माता जानकीलाई चढाइएको चुनरी ओढाएर सम्मान गर्नुभएको थियो ।
प्रधानमन्त्री कार्कीले मन्दिरमा रहेको र नित्य दिन पूजा हुँदै आएको सवा लाख शालिग्राम भगवान्को दर्शन पनि गर्नुभएको थियो । त्यस्तै, उहाँले जानकी मन्दिरमा भइरहेको सीताराम अखण्ड कीर्तनमा सहभागी भई केही समयसम्म कीर्तनमा समेत ध्यान दिनुभएको थियो ।
प्रधानमन्त्री कार्की मन्दिर प्रवेश गर्नुको समय ११ बजेर ४० मिनेट थियो र करिब १५ मिनेट मन्दिरमा पूजाअर्चना गर्नुभयो । पूजापश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “म राजनीतिक व्यक्ति होइन, आजको यात्रा धार्मिक उद्देश्यका लागि हो ।”
उहाँले जनकपुरधाम आएर जानकी माताको दर्शन गरेपछि धर्म गरिएको अनुभूति भएको र आफू अत्यन्त खुसी भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कार्की नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुरधाम आउनुभएको थियो। जनकपुर विमानस्थलमा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोसहित धनुषाका सुरक्षा निकायका प्रमुखहरूले उहाँलाई स्वागत गर्नुभएको थियो ।
जानकी मन्दिरमा पूजाअर्चना सकेपछि प्रधानमन्त्री कार्की महोत्तरीको गौशाला निरीक्षण गर्न गइन्। उहाँले निगौल गाई गौशालाको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।