जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी शनिबार र आइतबार पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ्ग र असिनासहित हावाहुरी हुने चेतावनी दिएको छ ।
महाशाखाले शुक्रबार साँझ जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार, हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा र हिमपात भएको छ ।
शुक्रबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार देशको अधिकांश भागमा बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ । आइतबार देशको पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल रहनेछ ।
साथै, देशको पहाडी र हिमाली भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।