पर्सा जिल्लाको कोईलाभार क्षेत्रमा “कोईलाभार जङ्गल रिसोर्ट” औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुशील कुमार कानुले एक समारोहका बीच रिवन काटेर रिसोर्टको उद्घाटन गरेका हुन् । करिब एक बिघा क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट निर्माणमा करिब एक करोड रुपैयाँ लगानी गरिएको सञ्चालक सुनिल पटेलले जानकारी दिए । उनले यस रिसोर्टले वीरगंज र कोईलाभार क्षेत्रबीच पर्यटनको सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुशील कुमार कानुले यस्तो किसिमका रिसोर्टहरूले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र ग्रामीण भेगको मौलिक स्वादमा रमाउन सक्ने अवसर प्रदान गर्ने बताए । उनले यस्ता संरचनाले ग्रामीण क्षेत्रलाई वीरगंजसँग जोड्ने सेतुको रूपमा काम गर्ने उल्लेख गरे ।
रिसोर्टमा पारिवारिक बसाइका लागि उपयुक्त आधुनिक तथा स्तरीय कोठाहरू, स्विमिङ पुल, तथा ‘लाईभ फिसिङ’ को विशेष व्यवस्था गरिएको छ । साथै, परम्परागत स्वादलाई प्राथमिकता दिँदै दाउराबाट पकवान र सिलौटाबाट मसला पिसेर तयार गरिएका स्थानीय परिकारहरू समेत उपलब्ध गराइने व्यवस्था गरिएको सञ्चालकले पटेलले बताए । बालबालिकाका लागि खेलकुद, प्राकृतिक जङ्गल वातावरणमा रमाउने सुविधा, तथा धार्मिक आस्थाका केन्द्र ‘कोईलाभार माता’ को दर्शन गर्ने व्यवस्था समेत मिलाइएको छ । यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा रास्वपा युवा नेता सुधिर पटेल, डा. चन्द्रभुषन सिंह, वरिष्ठ पत्रकार दिपेन्द्र चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसि भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतो लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
स्थानीय बासिन्दाहरूले पनि नयाँ पर्यटकीय गन्तव्यको रूपमा यस रिसोर्टले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरेका छन् । साथै, आगामी दिनमा थप संरचना विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना रहेको सञ्चालकले जनाएको छ ।