मुस्लिम समुदायले आज इद उल फित्र पर्व श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाउँदै छन् ।
अरबी पात्रो हिजरी संवत् अनुसार नवौँ महिनाभर निराहार व्रत (रोजा) बसेका मुस्लिम धर्मावलम्बीहरूले विशेष नमाज अदा गरी ठूलाबडाबाट आशीर्वाद लिएर पर्व मनाउने परम्परा रहेको छ । पर्वका अवसरमा आज विशेष नमाज पाठ सम्पन्न भएपछि तीन दिनसम्म आफुभन्दा ठूलाबडाकहाँ गई आशीर्वाद लिने तथा सानालाई आशीर्वाद दिने चलन छ । आशीर्वाद लिन आउने आफन्त तथा पाहुनालाई सेवई, खजुर लगायत विभिन्न मिठा परिकार खुवाउने प्रचलन रहेको छ ।
खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई सहयोग गरिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने मिति तय हुने मुस्लिम धर्मावलम्बी एवं अब्दुल सतार ले जानकारी दिनुभयो ।
मुस्लिम धर्मग्रन्थ कुरान मा उल्लेख भएअनुसार मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने व्यवस्था छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी तथा गरिबलाई वितरण गरिन्छ, जसलाई ‘जकात’ भनिन्छ ।
इद उल फित्रका अवसरमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्ने प्रचलन छ, जसलाई ‘सदकात–उल–फित्र’ भनिन्छ। यो दान आमाको गर्भमा रहेको शिशुको नामबाट समेत गर्नुपर्ने धार्मिक मान्यता रहेको छ। उक्त दान पनि दीनदुःखी र विपन्न वर्गलाई नै प्रदान गरिन्छ ।
आजभन्दा एक महिना अघिदेखि सुरु भएको रोजा अवधिभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म निराहार बसी संयम, त्याग र आत्मअनुशासनको अभ्यास गरेका थिए । एक वर्षभित्र गरिएका पापबाट मुक्ति पाउन रोजा बस्ने धार्मिक विश्वास रहेको बताइएको छ ।
इद उल फित्रका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाउने, आफन्त तथा साथीभाइकहाँ गई शुभकामना आदानप्रदान गर्ने तथा सामाजिक सद्भाव सुदृढ गर्ने गर्दछन् ।