निजगढ नगरपालिका–९ स्थित बकैया खोलाबाट अवैधरूपमा बालुवा लोड गरी लैजान लागेको तीनवटा ट्याक्टर प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
इला्का प्रहरी कार्यालय, निजगढका प्रहरी वरिष्ठ हवल्दार कुलबहादुर मगरको नेतृत्वमा गएको टोलीले बा.प्र.२–०३–००१त१८०८, ना.७त ३०१ र म.प्र.२–०३–००१त७४६५ नम्बरका ट्याक्टरहरू नियन्त्रणमा लिएर इप्रका, निजगढ परिसरमा राखेको थियो ।
नगरपालिका क्षेत्रका बकैया, धन्सार, बगर, लाल–भक्तलाल, शक्ति खोला लगायतका खोलामा चालू आर्थिक वर्षको अहिलेसम्म नदीजन्य पदार्थको ठेक्का लागिसकेको छैन । खोला ठेक्का नलागेकाले खोलाबाट बालुवा उत्खनन, ओसार–पसार वा अन्य काम गर्न कानूनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धित समयमा ती ट्याक्टरहरूले बालुवा उत्खनन गरी लोड गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । निजगढ नगरपालिकाले तोकेको प्रतिट्याक्टर रु १० हजार दरले जरिवाना तिरेपछि तीनै ट्याक्टर मालिकले रसिद बुझाएसँगै तिनलाई छाडिएको इप्रका, निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, खोला ठेक्का लागे पनि वातावरणीय परीक्षण प्रतिवेदनअनुसार तोकिएको क्षेत्रमा मात्र मापदण्डको पालना गरी उत्खनन गर्न पाइने नियम छ ।
यसबाहेक अन्य क्षेत्रमा उत्खनन गरेमा कानूनी कारबाही हुने छ ।